सांसद जानकी ऐरको ‘अडियो काण्ड’ले हल्लायो सुदूरपश्चिम

कैलाली– सुदूरपश्चिम प्रदेशसभाकी सांसद जानकी ऐर बम विवादमा परेकी छिन् । नेपाल आर्मीमा भर्ती गराइदिने भन्दै रकम मागेको एक अडियो सार्वजनिक भएपछि उनी गम्भीर आलोचनाको केन्द्रमा छिन् ।

सो अडियो आफ्नो नभएको जिकिर गरिरहेकी पनि अडियोमा प्रष्ट संसद ऐरको स्वर सुन्न सकिन्छ ।

जसमा उनी एक युवकसँग रकम माग्दै भन्छिन्, ‘लिखित परीक्षा अहिले पहिलेको जस्तो छैन् टाइट छ’ । सोही अडियोमा ती युवकले भन्छन्, “एक लाख पहिले दिइसकेको छु, पास गराइदिए थप दिन्छु।”

अडियोमा सुनिने स्वर, शैली र प्रसंग सांसद जानकी ऐरसँग मिल्ने भए पनि उनी आफैंले यसलाई अस्वीकार गरेकी छिन्।

अडियो सार्वजनिक भएसँगै नेकपा एमाले पार्टीभित्रै आलोचना भएको छ । यस्तै सामाजिक सञ्जालमा पनि नागरिकले विभिन्न टिका टिप्पणी गरेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीकी सचिवालय सदस्यसमेत रहेकी सांसद ऐरले अडियो सार्वजनिक भएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गरिरहेकी छन् ।

“अहिले म यो विषयमा धेरै केही बोल्दिन । मैले यो षड्यन्त्र पहिचान गरिसकेको छु । अडियो मेरो होइन, प्रविधिको प्रयोग गरेर मेरो विरुद्ध राजनीतिक प्रपोगण्डा मच्चाइएको छ।”

सांसद ऐरले आर्मीमा भर्ती गराइदिने नाममा कुनै पनि व्यक्ति वा समूहसँग आर्थिक लेनदेन नगरेको स्पष्ट पार्दै यो सम्पूर्ण प्रकरण आफ्नो राजनीतिक भविष्य ध्वस्त पार्न गरिएको प्रयास भएको आरोप लगाएकी छिन्।

अहिले समाजिक संजालबाट त्यो अडियो हटाइएको छ । २०७९ सालमा समानुपातिक खस आर्य कोटाबाट प्रदेशसभा प्रवेश गरेकी सांसद ऐर अघिल्लो माओवादी आन्दोलनमा भूमिगत रहँदै सक्रिय राजनीतिमा उदाइकी हुन् ।

माओवादीबाट २०७४ मा पुरर्चौडी नगरपालिकाको उपप्रमुख भएर कार्यकाल सकेलगत्तै एमालेमा प्रवेस गरेकी हुन् ।

सांसद ऐर सुदूरपश्चिमका ग्रामीण र पिछडिएको समुदायबाट प्रतिनिधित्व गर्ने नेतृका रूपमा परिचित छिन्।

उनले महिला अधिकार, शिक्षा, रोजगारजस्ता विषयमा आवाज उठाउँदै आएकी थिइन्। तर, अहिलेको अडियो काण्डले उनको राजनीतिक करिअरमा कालो छायाँ पारेको देखिन्छ।

सांसद जानकी ऐरको अडियो प्रकरणले एक पटक फेरि सत्तामा पुगेका व्यक्तिहरूको जवाफदेहिता, राजनीतिक नैतिकता, र भ्रष्टाचारको गहिरो समस्या उजागर गरिरहेको छ।

के सांसद ऐर निर्दोष छिन्, वा सशस्त्र मञ्चबाट सुरु भएको उनको राजनीतिक यात्रा पैसाको गन्धमा सड्न थालेको हो? यो प्रश्नको उत्तर अब निष्पक्ष छानबिनबाट मात्र मिल्न सक्छ।

प्रतिक्रिया छाेड्नुहाेस्