धनगढी– कैलालीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा एक वृद्धाको शव फेला परेको छ ।
जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया माता देवी शाहीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
शाहीको शव बिहान सवा ८ बजेको समयमा उनको दुई तले घरको सुत्ने कोठामा फेला परेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए। शाही एक्लै बस्ने दुई तले घरको माथिल्लो तलामा सुत्ने कोठाको खटियामा मृत अवस्थामा भेटिएकी हुन्।
प्रारम्भिक अनुसन्धानमा उनको छातीमा धारिलो हतियार प्रहार गरिएको तथा घाटीमा समेत चोट देखिएको प्रहरीले बताएको छ।
घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ। तर, अहिलेसम्म घटनाबारे कुनै तथ्य फेला पर्न सकेको छैन। घटनास्थल कार्य सकेर मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












