बैतडी – बैतडीमा भोलिबाट डेंगी नियन्त्रण अभियान सञ्चालन हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आज एक कार्यक्रमको आयोजना गर्दै भोलीबाट अभियान सञ्चालन हुने बताइएको हो ।
डेंगी रोगको रोकथाम तथा नियंन्त्रण सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
डेंगी रोगको वर्तमान अवस्था रोकथाम नियन्त्रण र जनचेतनामूलक कार्यको आवश्यकताका विषयमा विस्तृत छलफल गरिएको छ ।
सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थ राज भट्ट, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देव बडू, जिल्ला अस्पताल बैतडीका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सुशिल बि.क, नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नरी बडू, उद्योग बाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानद भट्ट लगायत विभिन्न निकायका प्रतिनिधिहरू र सरोकारवालाहरूको उपस्थिति थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी खनालले डेंगी नियन्त्रणमा स्थानीय तहहरूको मुख्य जिम्मेवारी रहेको बताउँदै उनीहरूको सक्रियता अनिवार्य रहेको उल्लेख गरे ।
डेंगीजस्तो संक्रामक रोगको नियन्त्रणमा स्थानीय तहको अग्रसरता अत्यन्त आवश्यक रहेको उनले बताए ।
पालिका अध्यक्षहरूसँग व्यक्तिगत रूपमा आफूले डेंगी नियन्त्रणका विषयमा कुरा गरिने बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले भोलिबाट डेंगी नियन्त्रण अभियान सुरु गरिने समेत बताए ।
उनले दशरथचन्द नगरपालिका–४ स्थित गडी बजारबाट अभियानको सुरुवात गरिने बताए ।
उनले डेंगी नियन्त्रणका लागि सरसफाइ लामखुट्टे नष्ट गर्ने कार्य र जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिने जानकारी दिए।
स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले डेंगी नियन्त्रण कार्यक्रम भाद्र महिनासम्म निरन्तर सञ्चालन हुने जानकारी दिए ।
उनले बजार क्षेत्र लगायत जोखिमयुक्त स्थानमा विशेष सफाइ तथा जानकारीमूलक गतिविधिहरू सञ्चालन गरिने बताए ।









