उत्तराखण्ड बढीमा २२ नेपाली वेपत्ता, अझैसम्म पनि खोज तथा उद्धार जारी

०८२ साउन २३ गते- भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा २२ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३, धादिङ घर भएका ४ र जुम्ला घर भएका एक जना सम्पर्कविहीन भएको बुझिएको छ ।

यसअघि उत्तराखण्डको बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो । बर्दिया मधुवनका नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक पनि बाढीमा परेर बेपत्ता भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।

जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार त्यहाँका १३ जना नेपाली सम्पर्कविहीन छन् । कुशे गाउँपालिकाले विज्ञप्ति जारी गर्दै खोजिका लागि अपीत गरेको छ । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनका अनुसार कुशे गाउँपालिका वडा नम्बर २ टालेगाउँका कर्णबहादुर सिंह, रामबहादुर सिंह, निम सिंह, रविन सिंह र परिचय नखुलेका अरु ७ जना बाढीपहिरोमा परेको जानकारी त्यहाँ रहेका नेपालीहरुले दिएका छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

यस्तै जुम्लाको तिला गाउँपालिका निवासी जनकबहादुर शाही पनि पहिरोमा परी बेपत्ता भएको जानकारी आएको त्यहाँका जनप्रतिनिधिहरुले बताएका छन् ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भारतीय पक्षसँग खोज तथा उद्दारबारे समन्वय भइरहेको बताएका छन् । बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।

नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लका अनुसार, उत्तराखण्डमा स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको छ । ‘उनीहरूले अहिलेसम्म बेपत्ताको यकिन विवरण दिइसकेका छैनन्, परिवारतर्फबाट केही सूचना आएको हो,’ उहाँले भन्नुभयो ।

उद्धार अझै जारी

बाढी प्रभावित स्थानमा अझै उद्दार कार्य जारी रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार हालसम्म प्रभावित क्षेत्रबाट करिब १९० जनालाई उद्धार गरिएको छ।

राज्यका अधिकारीहरूले यो एकै स्थानमा अत्यधिक वर्षा हुँदा क्लाउडबर्स्ट भएर बाढी आएको बताएका छन् । लेदो माटो र पानीसहित बाढी आउँदा धेरै क्षति भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मुख्यमन्त्री धामीले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर केही पीडित परिवारसँग भेट गरेका थिए । पश्चिमी हिमालय क्षेत्रमा रहेको उत्तराखण्ड आकस्मिक बाढी र पहिरोको दृष्टिले अति संवेदनशील मानिने बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

उनीहरु कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरुकै परिवारका सदस्यहरुबाट जानकारी पाएको प्रमुख जिल्ला अधिकारी घिमिरे बताए । ‘त्यसपछि हामीले पत्राचार गरेर गृह मन्त्रालयमार्फत् दूतावासलाई जानकारी गराएका छौं,’ उनले भने ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया छाेड्नुहाेस्