बैतडी : जिल्लाको शिवनाथ गाउँपालिकाले भोली (बिहीबार) देखी राष्ट्रिय परिचयपत्रका लागि आवेदन दर्ता कार्यक्रम सुरु गर्ने भएको छ ।
पछिल्लो समय समाजिक सुरक्षा भत्ता नबिकरण र बैंकमा खाता खोल्नको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि पालिकाले सबैको सहजताको लागी कार्यक्रम पालिकामै संचालन गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनु भयो ।
राष्ट्रिय परिचयपत्र बनाउन छुटेका एकल महिला, वृद्धवृद्धा, अपांग र अन्य आवेदन भरेर पनि इस्सु नभएका सबैलाई आ आफ्नो तोकिएको मितिमा गाउँपालिकामा गएर आवेदन भर्न हुन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र सिह महताले आग्रह गर्नु भएको छ ।

आवेदन दर्ता गर्नेले नागरिकताको सक्कल प्रति, विवाहितको हकमा विवाह दर्ता वा श्रीमतीको नागरिकतामा श्रीमानको नाम उल्लेख भएको, श्रीमान वा श्रीमतीको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र, बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाण पत्रको सक्कल प्रती लिएर आउनु पर्ने छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा दर्ता कार्यक्रम सुरु हुन लागेको हो । कार्यक्रमको गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीले बुधबार एक कार्यक्रमका विच उदघाटन गरेको छ । उदघाटन गरिएपनि दर्ताको काम बिहीबारदेखि गरिने गाउँपालिकाले जनाएको छ ।











