०८२ भदाै ५ गते- चार वर्ष अघी श्रीमान गुमाएकी डिलाशैनी गाउँपालिका- ३ गीरीबगडकी ३४ वर्षीया राजमती कोलीले साहारा मानेको छोरा किरण समेत ०८२ साउन १७ गते घर नजिकैको बालुवामा गुमाइन । विद्युतको तारमुनी थुपारिएको बालुवाको थुप्रोमा खेलिरहेका १४ वर्षीय छोरा किरन कोलीको करेन्ट लागेर ज्यान गएपछि राजमतीको पीडा वर्णन गर्न सकिने छैन् । कक्षा ८ मा पढ्ने छोरा किरनको मृत्युपछि आफुलाई जानकारी नदिई पाँच लाख क्षतिपूर्तिमा घटना मिलापत्र गराएको राजमतीको गुनासो छ । कान्छा ससुरा हरीचन्द्र कोलीको रहोबरमा पाँचलाख क्षतिपूर्ति दिने सहमतीपछि बालकको दाहासंस्कार समेत भयो । तर राजमतीको चित्त बुझेन । देवर तुलाराम कोली बिदेसबाट घर फर्केपछि राजमती न्यायको लागि सदरमुकाम चाहारिरहेकी छिन् ।

उनले सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं भाैतिक पुर्वाधार मन्त्री सुरेन्द्र पालकाे संलग्नतामा तारमुनी बालुवा थुपार्दा आफ्नो छोराको ज्यान गएको आरोप लगाएकी छिन् । घटनामा संलग्नलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको उनको आरोप छ । मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बैतडी पुगेकी राजमतीलाई इलाका प्रहरी कार्यालय, पाटन पठाइयो । पाटनमा पनि मुद्दा दर्ता नभएपछि उनि फेरी सदरमुकाम पुगिन् । बारदात (घटना भएको स्थान) मा आरोपित भनिएका व्यक्तीकाे उपस्थिती तथा संलग्नता पुष्टि नहुने देखेपछि प्रहरीले मुद्दा दर्ता गरेन । त्यसपछि पीडित राजमतीले भदौ ४ गते जिल्ला हुलाक मार्फत जाहेरी दर्ताका लागि पठाएकी छिन् ।

आफुलाई कुनै जानकारी नदिई खातामा पाँच लाख हालेर घटना दबाउन खाेजेकाे पीडितकाे गुनासाे छ । यसले छोरामाथी अन्याय भएको पीडितको आरोप छ । पीडित राजमतीले भनिन्, ‘मलाई कुनै अरु मत्लब छैन्, बस छोराले न्याय पाउनुप¥यो । श्रीमान बितेपछि साहारा मानेको छोराको समेत मृत्यु भएपछि मलाई कस्तो भएको होला तपाँई आफै सोच्नुहोस, म कसरी पैसामा छोराको ज्यान साटुँ, मलाई जानकारीनै नदिई मेरो खातामा कसरी पाँच लाख हालियो ।’
मृतकका कान्छा बाजेले गरेको सहमती अनुसार पीडक पक्षको तर्फबाट डिलाशैनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रधुबीर बोहराले आफुलाई जानकारी नगराई पाँच लाख खातामा जम्मा गरेको पीडितको आरोप छ । तर वडा अध्यक्ष बोहराले भने आफुले पीडित परिवार भनेर सहयोग संकलन रकम उठाएर पीडितको खातामा हालेको बताएका छन् ।

पीडित परिवारका अनुसार सुरेन्द्र पालले विगतदेखिनै चमेलीया नदीबाट सो ठाउँमा बालुवा थुपार्दै बेच्दै आएका थिए । बालुवा विद्युतको तारसम्म छोइने गरि राखिएको थियो । त्यसैले पीडित परिवारले पाललाइ दाेषी बनाइरहेका हुन् । तर प्रहरीका अनुसार सुरेन्द्र पालको नाममा निर्माण कम्पनी छैन् । सोही कारण घटनामा प्रत्यक्ष संलग्न भएका व्यक्तिहरुको नाममा जाहेरी ल्यानु भनेर पठाएको जिल्ला प्रहरी कार्यालय, बैतडीका निमित्त प्रमुख प्रहरी निरिक्षक बलराम पाण्डेयले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘हामीले अनुसन्धान गर्ने हो । त्यहाँ बारदात स्थलमा नभएको व्यक्तिको नाममा जाहेरी आएको छ, त्यसैले जाहेरीको व्यहोरा मिलाएर ल्याउनु भनेका हौँ, प्रारम्भिक प्रमाणहरु पुगेपछि मुद्दा दर्ता नगर्ने भन्ने कुरा हुदैन, जोसुकै भएपछि हामी अनुसन्धान गछौँ ।’
अवैध बालुवा उत्खनन् गरि विद्युतको तारसम्म छोइने गरि थुप्रो बनाएर राख्दा समेत सम्बन्धित निकाय मौन छन् । यसबारेमा राजनीतिक दलका स्थानीय नेतृत्वहरुले समेत विज्ञप्ती निकालेर सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै घटनाको अनुसन्धान गर्ने माग गरेका छन् ।


विद्युत लाईन प्रवाहमा अबरोध हुने किसमका गतिविधि गर्न नमिल्ने विद्युत प्राधिकरण बैतडीका प्रमुख जनर्दन पौडेलले बताउनुभयो । तार जमीन नजिक नभएर बालुवाको थुप्रो तारसम्मै पुगेकाले घटना भएको भन्ने बुझिएको उहाँको भनाई छ । विद्युत प्राधिकरणको कम्जारीले यदि घटना भएको भए क्षतिपुर्ति दिने व्यवस्था रहेको तर गीरीबगडको घटनामा प्राधिकरणको कमजारी नभएकाले पीडित पक्ष प्राधिकरणसंग क्षतिपुर्तिका लागि समेत नआएको पौडेलको भनाई छ ।


वर्षातको समयमा अवैध बालुवा संकलन गर्दा समेत सम्बन्धित निकाय बेखबर हुनु, बालबालिकाहरु खेल्ने ठाउँमा बालुवाको थुप्रो विद्युतको तारसम्म छोइने गरि राख्नु लगायतका कारणले घटना संकास्पद भएकाले सत्यतथ्य छालबिन हुनुपर्ने माग पीडित पक्षको छ । पीडितले आरोपीत भनेका सुरेन्द्र पाल नेकपा एमालेबाट बैतडी जिल्ला प्रदेशसभा ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । अहिले उनि सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री समेत छन् । त्यसैले घटनालाई दबाउन खोजेको पीडितको आरोप छ ।
डिलाशैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बाेहराका अनुसार गाउँपालिकाले यस वर्ष बालुवा उत्खनन सम्बन्धि कुनै ठेक्का खाेलेकाे छैन् र अवैध बालुवा उत्खनन् सम्बन्धि गुनासाे आएपछि गाउँपालिकाले सूचना समेत जारी गरेको थियो ।


तर कतिपयले भने यसलाई सुरेन्द्र पालमाथीको राजनीतिक आक्रमण भएको अर्थ लागएका छन् । उनको नाममा न निर्माण कम्पनीकाे लाइसेन्स छ, न उनि घटना भएको स्थानमा छन्, न उनले प्रत्यक्ष कसैलाई बालुवा थुपार्नु भन्ने निर्देशन दिएको प्रमाण छ । त्यसैले उनिमाथीकाे आरोप निराधार रहेको पाल निकट व्यक्तिहरूकाे गुनासाे छ । सुरेन्द्र पालको नाममा छ भनिएको निङ्लाशैनी कन्स्ट्रसश अहिले उनकी श्रीमतीको नाममा रहेको बुझिएको छ । प्रदेशसभा सदस्य निर्माचित भएपछि सुरेन्द्र पाल अधिकासं धनगढीमै हुन्छन् । उनको निर्माणको काम छोराले गरिरहेको बुझिएको छ ।











