बैतडी । १७ भदाै- लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपदको जोखिम हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्ला स्थीत सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सूचना जारी गर्दै बैतडी प्रशासनले यस्तो आग्रह गरेको हो ।
प्रशासनले मनसुनजन्य विपदका सम्भावनालाई मध्यनजर गर्दै आवतजावतमा विशेष सावधानी अपनाउन, अत्यावश्यक बाहेक यात्रा नगर्न, रातको समयमा जोखिमयुक्त स्थानहरूमा नबस्न, नदी, खोल्सामा नजान तथा सतर्कता पूर्वक यात्रा गर्न सबैलाई आग्रह गरेको हो ।
बैतडी जिल्लाका धेरै भूभाग पहिरोको उच्च जोखिममा छन्। सानो असावधानीले पनि ठूलो क्षति निम्त्याउन सक्ने भएकाले उच्च सतर्कता अपनाईएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताउनुभयो ।
प्रशासनले स्थानीय तहहरूसँग समन्वय गर्दै विपद् व्यवस्थापन समिति सक्रिय बनाएको जनाएको छ भने आकस्मिक उद्दारका लागि तयार रहन समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो।











