२२ भदाै, बैतडी- २२ औँ निजामती सेवा दिवस बैतडीमा स्थानीय झाँकी सहित विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवस पुर्वसन्ध्याको अवसरमा बैतडीमा खुल्ला ब्याडमेन्टन प्रतियोगिता, सरसफाई लगायतका कार्यक्रम गरिएका थिए भने मुख्य दिन आज स्थानीय छलीया झाँकी सहित चिण्डोफोड, कुर्सिदौड लगायतका प्रतियोगिता गरेर भव्य रुपमा मनाइएको छ ।

जिल्ला सदरमुकाम गेठालापानीबाट ¥याली सहित गढीस्थित जिल्ला प्रशासन कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा निजामती कर्मचारी तथा अन्य सेवा प्रदायक निकायका प्रतिनिधि स्थानीय व्यक्ति, नागरिक समाज लगायतको उपस्थिती रहेको थियो । दिवसकै अवसरमा आयोजित खुल्ला ब्याडमेन्टन प्रतियोगिताका विजेता टोलि, उत्कृष्ट कार्यालय तथा अन्य सहयोगीहरुलाई पनि विभिन्न विधामा सम्मान तथा पुरुस्कार वितराण गरिएको थियो ।

दिवसको अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निजामती कर्मचारीहरुले जनतालाई महसुस हुने गरि सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । निजामती कर्मचारीको असल काम र व्यवहारलेनै कर्मचारीप्रति जनताको विश्वास बढ्ने भएकाले यसमा सबै जिम्मेवार हुनुपर्ने उहाँको धारणा थियो ।

दिवसकै अवसरमा बैतडीका सरकारी कार्यालयहरुमध्ये नापी कार्यालय बैतडीलाई उत्कृष्ट कार्यालय घोषणा गरिएको छ ।

निजामती सेवासम्बन्धी ऐन पहिलोपटक जारी भएको विक्रम संवत् २०१२ भदौ २२ गतेको स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ।












