धनगढी– धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, वनकसवासास्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको हो।
दुर्घटनामा डोटीको दिपायल सिलगढी नगरपालिका–१ की सरस्वती खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्यले बताए ।
घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख निरज गौतमले बताए। गम्भीर र मध्यम घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।
प्रहरीका अनुसार बिहानको समयमा तीव्र गतिमा गुडिरहेको बस मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
दुर्घटनास्थलमा प्रहरीले उद्धार तथा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।












