बैतडी- नेकपा एमाले जिल्ला कमिटि बैतडीले जागरण सभा गर्ने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटिको आठौं बैठकले लोकतन्त्रको रक्षाका लागि भन्दै कार्तिक २९ गते जिल्ला सदरमुकाममा जागरण सभाको आयोजना गर्ने निर्णय गरेको नेकपा एमाले जिल्ला कमिटि बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताउनुभयो ।
जागरण सभाका लागि १० ओटै स्थानीय तहमा पालिकास्तरीय बैठक गर्ने निर्णय समेत भएको उपाध्यक्ष भण्डारीले बताउनुभयो । लोकतन्त्रको रक्षा, आपसी सदभाव र संविधानको रक्षाका लागि जागरण सभाको आयोजना गर्ने तयारी भएको एमाले बैतडीका अध्यक्ष नरेश विकले बताउनुभयो ।
बैठकमा एमालेका केन्द्रीय सदस्यद्वय लिलाधर भट्ट र दामोदर भण्डारी, एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैशी, जिल्ला कमिटिका पदाधिकारी तथा अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।











