लागु औषध र सीमा सुरक्षा विषयक निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बैतडी। लागु औषध, सीमा सुरक्षा र युवा विषयमा आयोजना गरिएको निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीले सदरमुकाम शाहिलेकस्थित श्री वीरन्द्र माध्यमिक विद्यालयमा आयोजना गरेको उक्त प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।

विद्यालय उमेर समूहका तथा अन्य युवाहरूलाई लागु औषध दुर्व्यसन र त्यसले पार्ने नकारात्मक प्रभावबारे सचेत गराउनुका साथै उनीहरूमा राष्ट्रियताको भावना जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल नं. ५१ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले जानकारी दिनुभयो।

वक्तृत्वकला प्रतियोगितामा वीरन्द्र माविका डम्बरी नाथ प्रथम, रमन पाण्डेय द्वितीय र लक्ष्मी भट्ट तृतीय स्थान हासिल गर्न सफल भएका थिए। त्यसैगरी निबन्ध लेखन प्रतियोगितामा कमला भट्ट प्रथम, ज्योती पाण्डेय द्वितीय र जान्हवी खत्री तृतीय स्थानमा रहेकी छन्।

कार्यक्रमले विशेष गरी विद्यालय उमेर समूहका युवाहरूलाई लागु औषध दुर्व्यसनबाट बच्न मद्दत गर्ने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो। विद्यालयमा यस्ता सचेतनामूलक कार्यक्रम आयोजना गर्दा विद्यार्थीहरू दुर्व्यसनप्रति सचेत बन्नुका साथै लागु औषध नियन्त्रणमा समेत सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक हर्कबहादुर चन्दले उल्लेख गर्नुभयो।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, लागु औषध दुर्व्यसन नियन्त्रण, युवा जागरण तथा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूसँग नियमित रूपमा साक्षात्कार गर्दै उनीहरूका समस्या समाधानमा सहकार्य गर्दै आइरहेको जनाइएको छ।

प्रतिक्रिया छाेड्नुहाेस्