कोइला बालेर सुत्ने बानी छ ? याद गर्नुहोस ! डाक्टर सिजनले देखेको एउटा घटना

डाः सिजन खड्का, जिल्ला अस्पताल, बैतडी । घटना पुष २२ गतेको हो । रातको करिब १०ः ३० बजेको हुँदो हो । जिल्ला अस्पताल, बैतडीको इमेरजेन्सी कक्षमा त्यो दिन मेरो डिउटी थियो । उच्च पहाडी जिल्ला मध्येको एक बैतडीमा मौसम चिसोनै थियो भनेर भनिराख्नु पर्दैन् । अपी हिमाल र ग्वाल्लेकबाट आउने सिरेटोले झनै यहाँको मौसम चिसो बनाउछ । त्यो दिन इमेरजेन्सीमा बिरामी खासै थिएनन् । म मोबाइलमा केही अध्ययन गर्दै थिए । हस्याङ–फस्याङ गर्दै एउटा महिला तीन ओटा बच्चा सहित इमेरजेन्सीको ढोकाभित्र छिर्नुभयो । ‘के समस्या भएर आउनुभयो ?’ मैले सोधे, आमाले भन्नुभयो ‘ग्याँस लागेर ।’ बैतडेली भाषा अलि बुझिएन, सोचे ग्याँस पड्केर पोल्यो होला, अनि सोधे ‘कता पोल्यो ?’ उत्तर अझै प्रष्ट आएन, बुझ्दा निस्सासिएर सिङ्गो परिवार मृत्युको मुखबाट बाँचेको रहेछ ।

साँझ ६ बजे खाना खाएर तीनै बच्चा सुतीसकेहोला भनेर आमा फोन चलाउनमा व्यस्त थिइन् । चिसो लागेपछि फोन चलाएकै धुनमा कोइला बालेर झ्यालडोका बन्द गरिएको रहेछ । करिब ८ बजेको हुँदा हो, ८ वर्षको कान्छो छोराले बान्ता ग¥यो र चक्कर लाग्यो भनेर एक्कासी ढल्यो । आमा अत्तालिइन स्यानु भनेर चिच्चाउन थालिन् । अरु छोराहरुलाई बोलाउदा उनिहरुपनि बोलेनन् आमा छाँगाबाट खसेझै भइन् । हेर्छिन त अरु दुई छोरा पनि बेहोस थिए । एक्कासी होहल्ला भयो । गाउँका मान्छेहरु जम्मा भए । घरमा कोलाहल मच्चीयो । झ्याल ढोका खोलेर बेहोस बच्चाहरुमो मुख र टाउको मा पानी छम्कीनुबाहेक उनिहरुसंग केही विकल्प थिएन् ।

१०(१५ मिनेट पछि बल्ल तीनै जना होसमा आए, अनि गाउँलेकाे सल्लाहमा अस्पताल दौडीए । तिनै बच्चाहरु अहिले सुरक्षित छन् । तर यदि कान्छो छोराले बान्ता नगरेको भए, आमालाई समेत थाहा हुन्थेन, त्यो घरमा अप्रिय घटना घट्नसक्थ्यो । ठुलो कालबाट त्यो परिवार बच्यो । अहिले परिवार सबै सकुसल छ । जाडो सबैलाई हुन्छ तर हिटर, कोइला लगायतका तातो बनाउने साधनहरु बालेर ढोका बन्द गरि सुत्नाले भोलिका दिनमा अप्रिय घटना नघट्ला भन्न सकिन्न् । त्यसैले सुरक्षित बनौँ ।

डाक्टर सिजनको सन्देश

“हामीले देखेका यस्ता घटना समाचारमा सबै आउँदैनन्।
तर हरेक जाडोमा कोइला बालेर सुत्दा
कति परिवार शोकमा डुब्छन्, कसैले गन्दैन।”

याद राखौँ

  • बन्द कोठामा कोइला, अंगीठी, ग्यास बालेर कहिल्यै नसुतौँ
  • सुत्नुअघि आगो पूर्ण रूपमा निभाऔँ
  • सम्भव भएसम्म हावाको निकास हुने व्यवस्था गरौँ
  • बच्चा, वृद्ध र बिरामी झनै जोखिममा हुन्छन्

जाडो केही दिनको हो,
ज्यान अमूल्य छ।

प्रतिक्रिया छाेड्नुहाेस्