बैतडी– स्वास्थ्य कार्यालय बैतडीले २४ सय ५३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिने भएको छ । जिल्लाका सबै विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिर रहेका १० बर्षका किशोरी र गत बर्षको अभियानमा छुटेका किशोरीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनु भयो ।
जिल्लामा गत बर्ष अभियानको रुपमा किशोरीहरुलाई एचपीभी खोप दिइएको भएपनि यो बर्ष नियमित खोपमा समावेश गरिएको उनले बताउनु भयो । जिल्लामा यो बर्ष कक्षा ६ मा अध्ययनरत २३ सय ८६ जना र गत बर्षको अभियानमा छुटेका ६१ जना किशोरीलाई एचपीभी खोप दिएन लागेको हो । यस्तै विद्यालय बाहिर रहेका १० बर्ष उमेरका ६ जना किशोरीलाई पनि खोप दिइने भएको छ ।
गत बर्ष जिल्लाका १० हजार ३१० जना किशोरीलाई एचपीभी खोप दिइएको स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक रहेको छ । नेपालमा हरेक बर्ष १ हजार ३१३ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान गरिएको छ । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर १६ र १८ प्रजातिहरुबाट भएको देखिएको तथ्यांकमा उल्लेख छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप पूर्ण सुरक्षित रहेकाले निर्धक्क रुपमा लगाउनुपर्ने जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा.पविन उपाध्यायले बताउनु भयो ।












