बैतडी- चैत्र २ गते (सोमबार) दार्चुलाको महाकाली नगरपालिका-५ गल्फैस्थित महाकाली नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका बालकको खोजिकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोलि परिचालन गरिएको छ । चार दिनसम्म पनि बालकको शव नभेटिएपछि गोताखोर र विपद व्यवस्थापन सम्बन्धि तालिम प्राप्त टोलि परिचालन गरिएको हो ।

महाकालीमा वेपत्ता भएका १५ वर्षीय बालक धिरज धामीको खोजिकार्यका लागि सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबा सशस्त्र प्रहरी नायव उपरिक्षक माधव जोशीको कमाण्डमा १६ जना र मजकुर नं. ७ वैद्यनाथ वाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर भण्डारीको कमाण्डमा गोताखोर र विपद व्यवस्थापन तालिम प्राप्त ७ जना गरी २३ जनाको टोलि परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका डिएसपी माधव जोशीले बताउनुभयो ।

जोशीका अनुसार खोजि कार्यमा स्थानीय र जनप्रतिनिधिहरुले समेत सहयोग गरेका छन् । साथीहरुसंग महाकाली नदीमा पौडी खेलिरहेका धामी सोमबार वेपत्ता भएका थिए ।







