असिनाले सखाप पारेको मकै दोस्रो पटक छर्दै किसान

बैतडी – गत साता वर्षा संगैको असिनाले जिल्लाको मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा मकैबाली लगायत तरकारीमा ठुलो क्षति पुग्यो । यि तिनै स्थानीयतह मध्ये सबै भन्दा बढी मेलौलीमा असिनाले क्षति गरेको थियो । असिनाले खेतनै ढाकेर क्षति पुगाएको मकैको खेतमा किसान दोस्रो पटक मकै छर्दै छन् ।

पाखो जमिनमा उम्रेर ४ पाते र पानी लाग्ने खेततिर ८ पातको भइसकेको मकै असिनाले पुरै खेत ढाकेर सखाप पारेपछि दोस्रो पटक छरिरहेको मेलौलीका किसान करन भट्टले बताए ।

‘असिनाले खेतनै हिउँ जस्तै ढाकिदिएपछि मकै जम्मै भाँचियो,’ उनले भने, ‘फेरी खेत बाँझो जस्तै देखिएपछि दोस्रो पटक छर्दैछौँ ।’ अहिले फेरी मेलौलीका किसान टनटलापुर घाममा असिनाले सखाप पारेका खेतमा हातले खनेर मकै छर्नमा व्यस्त छन् ।

असिना परेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले नगरपालिकालाई किसानको क्षतिको विवरण माग गरेको छ । प्रशासनको पत्रपश्चात अहिले नगरपालिकाले पनि किसानको क्षतिको विवरण संकलनको काम गरिरहेको नगरप्रमुख भिमबहादुर चन्दले बताए ।

प्रमुख चन्दले नगरपालिकाले घर, विद्यालयका छाना उडाएको क्षतिपूर्ति दिने भए पनि असिनाको क्षतिको किसानलाई राहत दिननस्क्ने बताए । नगरपालिकामा जम्मा भएका विवरण जिल्ला प्रशासनमा पठाइदिने र माथीबाटै केहि राहात आए त्यही बाँडीदिने उनले बताए ।

प्रतिक्रिया छाेड्नुहाेस्