१८ असार, बैतडी- दशरथचन्द नगरपालिका स्तरीय दलित सञ्जाल गठन गरिएको छ । नगरपालिकाको स्वीकृत लक्षित कार्यक्रम अन्र्तगत दलित शसक्तीकरणका लागि उक्त सञ्जाल गठन गरिएको हो । जिल्ला समुन्वय समिति, बैतडीको सभाहलमा आयोजित दलित अगुवाहरुको भेलाले प्रेम दयालको अध्यक्षतामा नौँ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
प्रेम दयाल अध्यक्ष रहेको समितिको उपाध्यक्षमा जगदीश बहादुर वड, सचिवमा शोभा महर, कोषाध्यक्षमा कृष्ण तिरुवालाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा नेहा नेपाली, कृष्ण महर, दानीराम तिरुवा, लक्ष्मण चुनारा र प्रकाश लावड रहेका छन् ।

्नगरपालिकाले दलितहरुको क्षमता विकास र शसक्तीकरणका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको दशरथचन्द नगरपालिका, बैतडीका प्रमुख पुस्करराज जोशी (लख्खाभाई) ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरपालिकाले विगतका वर्षहरुमा दलितहरुको क्षमता विकास अन्र्तगत काष्टकला तालिम, बाँस निङ्गालो तालिम, छाला प्रसोधन तालिम लगायतका विभिन्न कार्यक्रमहरु गरेको थियो । यस वर्ष दलित शसक्तीकरणका लागि प्रत्येक वडामा समिति गठन गरिएको छ ।’

पछिल्लो समय पनि दलितहरुले विभिन्न किसमका सामाजिक विभेदहरु सहनु परेकाले नयाँ गठित सञ्लालले दलितका मुद्दामा केन्द्रित हुँदै जातीय विभेदलाई जरैदेखि अन्त्य गर्न पहल गर्ने नवनिर्वाचित समितिका अध्यक्ष प्रेम दयालले बताउनुभयो । अझै पनि दलितहरुले शहर क्षेत्रमा समेत कोठा नपाउने समस्या रहेको उहाँको भनाई थियो ।
सञ्जाल गठनको उद्घाटनसत्रमा आयोजित कार्यक्रममा बिरेन्द्र मावि शाहीलेक व्यवस्थापन समितिकी अध्यक्ष पार्वती भललाई सम्मान गरिएको छ ।शाहिलेकजस्तो सदरमुकामको विद्यालयमा पहिलो महिला अध्यक्ष, त्यसमापनि दलित समुदायको महिला अध्यक्ष भएकाले उहाँलाई सम्मान गरिएको दलित अधिकारकर्मि जयराम विश्वकर्माले बताउनुभयो ।














