दशरथचन्द नगरपालिकाको कृषि एम्बुलेन्सले बोक्दैछ किशानका कृषि उपज

३० असार, बैतडी- दशरथचन्द नगरपालिकाका विभिन्न स्थानबाट डोकोमा तरकारी बजार पु¥याउनुपर्ने बाध्यता अब हटेको छ । गाउँमै गएर तरकारीलाई बजारसम्म पु¥याउन दशरथचन्द नगरपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएपछि उक्त बाध्यता हटेको भएको हो ।

गएको आइतबारदेखि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाका कृषि शाखा प्रमुख दिपक कार्कीले बताउनुभयो ।

नगर क्षेत्रभित्रका किसानहरुले उत्पादन गरेको कृषि उपजलाई सहज रुपमा बजारसम्म पुर्याउने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र ढुवानी बाफतको भाडादर कायम गरेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको कार्कीले बताउनुभयो ।

किसानहरुको माग अनुसार उनीहरुले भनेकै ठाउँमा एम्बुलेन्स जाने र सहुलियत भाडादरमा कृषि उपजलाई बजारसम्म पुर्याउने कार्कीले बताए । बजारको दररेट भन्दा ५० प्रतिशत कम भाडादर तोकेर कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको दाबी गरिएको छ ।

नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै किसानहरुलाई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन सहज भएको छ ।

अहिले आँपको सिजन भएकाले नगरपालिकाको वडा नं १० का विभिन्न ठाउँका किसानहरुको माग अनुसार कृषि एम्बुलेन्सले आँप ढुवानी गरिरहेको कृषि शाखा प्रमुख कार्कीले बताउनुभयो ।

कृषि उत्पादनको सहज बजारीकरण, ढुवानी खर्चमा कमी र किसानको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले कृषि एम्बुलेन्स खरीद गरिएको नगरपालिकाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको साढे १२ लाख र नगरपालिकाको साढे १२ लाख गरेर २५ लाखको लगानिमा कृषि एम्बुलेन्स खरीद गरिएको कार्कीले बताए । कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै किसानहरुलाई कृषि उपज बजारसम्म पुर्याउन सहज हुने अपेक्षा गरिएको छ ।

नगरपालिकाले कृषि एम्बुलेन्सका लागि तोकेको भाडादर

प्रतिक्रिया छाेड्नुहाेस्