बैतडीमा जग्गा वर्गीकरण गर्नेमा दशरथचन्द नगरपालिका दोस्रो

बैतडी – जग्गा वर्गीकरण गर्नमा जिल्लाका दश स्थानीयतह मध्ये दशरथचन्द नगरपालिका दोगडोकदार पछि दोस्रो स्थानमा रहेको छ । साउन देखि लागु हुने गरी दशरथचन्द नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्रका जग्गालाई वर्गीकरण गरि नापी र मालापोत कार्यालयलाई नक्सा सहित हस्तान्तरण गरेको नगरप्रमुख पुस्करराज जोशीले बताउनु भयो ।

नगरपालिकाले १० वटै वडाका १ लाख बढी कित्ताको साउन १ देखि लागु हुने गरी जग्गालाई ८ भागमा वर्गीकरण गरेको छ । नगरपालिका क्षेत्र भित्रको जमिनलाई कृषि, आवासीय, व्यावसायिक, सार्वजनिक उपयोग क्षेत्र, धार्मिक सांस्कृतिक महत्वको जग्गा, वन, सिमसार क्षेत्र र खनिज क्षेत्र गरि वर्गीकरण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज सुवेदीले जानकारी दिनु भयो ।

जग्गाको वर्गीकरणलाई नगरसभाबाट पास गरेर भूमी विभागबाट अनुमती लिएर स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको उनले बताए ।
जग्गाको यस वर्गीकरणले कृषि क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण र जोखिमयुक्त ठाउँमा बसोबास नहोस भन्ने उद्देश्यले जग्गाको वर्गीकरण गरिएको नगरपालिकाका अमिन महादेव भट्टले बताए ।

जिल्लाका सबै स्थानीयतहले आफ्नो क्षेत्राधिकारभित्र पर्ने जग्गाको वर्गीकरण गर्नुपर्ने भए पनि दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिका बाहेकका स्थानीयतहले अहिले सम्म नगरेको नापी कार्यालय बैतडीका प्रमुख बिनोदप्रसाद भट्टले जानकारी दिनु भयो । जग्गाको वर्गीकरण सबै स्थानीयतहले गर्नुपर्ने उनले बताए ।

२०८१ भदौ २७ मा भू–उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असारसम्म समय दिइएको थियो । यी दुई स्थानीय तहबाहेक बैतडीका अरु अन्य स्थानीय तहले हाल सम्म यसलाई लागू गरेका छैनन् ।

प्रतिक्रिया छाेड्नुहाेस्