बैतडी– सुदूरपश्चिम र कर्णाली सहित भारतको उत्तराखण्डमा आज हर्षोल्लासका साथ ‘ओल्के पर्व’ मनाइँदै छ । यहाँका समुदायले हरेक बर्षको भाद्र संक्रान्तिलाई ओल्के पर्वका रुपमा मनाउने गरेका छन् । ओल्के पर्वपछि अन्य चाडपर्व शुरु हुने भएकाले यसलाई जेठो पर्वका रुपमा मनाउने गरिएको छ ।
ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ । यस्तै आफन्त, इष्टमित्रहरुलाई उपहार स्वरुप भेटघाट गर्ने चलन समेत रही आएको छ । तर पछिल्लो समयमा भेटघाट गर्ने चलनमा भने कमी आएको छ ।
यसका साथै बिहानै नुवाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।
यो दिन ओल्कोको रुपमा फलफूल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पकवान आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रही आएको छ । धेरै जसो ठाउँंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने चलन रही आएको छ ।
यस्तै ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइती घरमा आउने चलन रही आएको छ । कतिपय ठाउँमा आजका दिनलाई ‘गब्या त्यार’ भन्ने चलन रही आएको छ । आजैका दिनदेखि पिँडालुको गाबाको तरकारी खाने चलन रही आएको छ ।
आजकै दिन हालिन्छ ‘बुढी’
भाद्र संक्रान्ति अर्थात ओल्के संक्रान्तिका दिन यस क्षेत्रमा बुढी हाल्ने प्रचलन समेत रही आएको छ । आजका दिन गाउँ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हालेको भन्ने गरिएको छ ।
भाद्र संक्रान्तिका दिन गाडेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ ।
ओल्के पर्वका अवसरमा आज सुदूरपश्चिम सरकारले प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।



