१० भदौ, काठमाडौं । भोटेकोशी नदीमा आज आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा अवस्थित जलविद्युत् आयोजनाहरूमा कार्यरत १ सय ९० कर्मचारी सम्पर्कविहीन भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणले अद्याविधिक गरेको पछिल्लो विवरण अनुसार ती कामदार सम्पर्कविहीन भएका हुन् । प्राधिकरणका अनुसार त्रिशूली जलविद्युत् कम्पनीको निर्माणाधीन त्रिशूली ३ बीको साइटमा कार्यरत २१ कर्मचारी सम्पर्कविहीन छन् ।
चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका ६ र आवास क्षेत्र वरपरबाट १ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । त्रिशूली ३बी आयोजनाको साइटमा कार्यरत ११ कामदार बेपत्ता छन् ।
उता, रसुवागढी जलविद्युत् केन्द्रमा कार्यरत ९२ जना सम्पर्कविहीन छन् । त्रिशूली ३ए जलविद्युत् केन्द्रको पावर हाउस मर्मत कार्यमा संलग्न ४५ कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत १/१ कर्मचारी सम्पर्क बाहिर छन् । चिलिमे पावर हाउसको स्विचयार्डमा काम गर्ने एक कर्मचारी र मिटर रिडर समेत सम्पर्कविहीन रहेको तथ्यांक छ ।
त्यस्तै त्रिशूली २२० केभी ३बी सबस्टेसनमा ठेकेदारका तर्फबाट कार्यरत १६ कामदार सम्पर्कविहीन रहेको तथ्यांक छ ।












