पहिरोले बैतडीको लामुनीगाउँ जोखिममा

बैतडी : पुचौँडी नगरपालिका–८ लामुनीमा पहिरोले उच्च जोखिममा परेको छ । भदौ २९ गते गाउँमाथिबाट आएको पहिरोले एक घर पुरिएको छ भने सिंगो गाउँनै जोखिममा परेको छ । पहिरोले स्थानीय गणेशदत्त जोशीको घर पुरिएको स्थानीय पदमराज जोशीले बताउनुभयो । पहिरोको आवाजले घरभित्रका व्यक्तिहरु भागेकाले मानविय क्षति भने भएको छैन् ।

पहिरोले जोशीको घर पूर्ण रुपमा नष्ट भएको छ । घरभित्र रहेका सबै अन्नपात, लत्ताकपडा पहिरोले बगाएको जोशीले बताउनुभयो ।
घर पुरिएपछि जोशी परिवार अहिले आफन्तको घरमा आश्रय लिएर बसीरहेका छन् ।

पहिरोका कारण पुरै गाउँ उच्च जोखिममा छ । लामुनीडाँडाको पल्लातिर तल्लादेहिमा वर्षौदेखि आइरहेको सुख्खा पहिरोका कारण त्यहाँको वस्तीनै विस्तापित बनेको छ । अब सुख्खा पहिरोको असर लामुनीमा समेत पर्न थालेपनि स्थानीय त्रसित बनेका छन् ।

पहिरोका कारण स्थानीय रघुनाथ जोशी, बल्देव जोशी, दत्तराम जोशी, परमानन्द जोशी, चन्द्रदेव जोशी, हिरा जोशी, पदमराज जोशी, काशी भण्डारी, दत्तराज जोशी, अम्बादत्र् जोशी लगायत १० घर परिवार पहिरोको उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताउनुभयो । पहिरो प्रभावित क्षेत्रमा प्रहरी टोली खटिएको उहाँले बताउनुभयो ।

तस्बिर : केशब बाेहरा

प्रतिक्रिया छाेड्नुहाेस्