काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन् ।
गत शुक्रबार तीनकुनेमा उनकै उक्साहटमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोटको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको थियो ।
उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको छ ।
ज्ञानेन्द्र शाहले पत्र बुझ्न नमानेपछि टोली यत्तिकै फर्केको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
महानगर प्रहरीको डीएसपी पूर्णचन्द्र भट्टको नेतृत्वमा पत्र बुझाउन टोली आज बिहान पुगेको थियो ।
निर्मल निवासले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ ।
‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान नदिएपछि फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले बताए ।
महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।
ऐनको दफा ४९ अनुसार केन्द्रीय तहसिलको कार्यालयले लगत कायम गरेर असुल उपर गर्न सक्ने व्यवस्था रहेको छ ।













