बैतडीमा दुई वर्षमा २१ जनाले त्यागे नेपाली नागरिकता

बैतडी– पछिल्लो दुई वर्षमा बैतडीबाट २१ जनाले नेपाली नागरिकता त्यागेका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म २१ जनाले नेपाली नागरिकता त्यागेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ मा ६ जना र गत आर्थिक वर्षमा १० जनाले नागरिकता त्यागेका थिए । यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै ५ जनाले नेपाली नागरिकता त्यागिसकेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुले जानकारी दिए ।

नागरिकता त्याग्नेहरूमध्ये १५ जना भारत र ५ जना अमेरिका गएको उनले बताए। बाँकी एक जना कुन देश गएको भन्ने विवरण भने खुल्न सकेको छैन ।

नेपाली नागरिकता त्याग्नेको संख्या बढिरहँदा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या पनि बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ११ जना र गत आर्थिक वर्षमा १३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।

यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमै १० जनाले वैवाहिक अंगीकृत नागरिकता लिइसकेको सूचना अधिकारी थारुले बताए।

प्रतिक्रिया छाेड्नुहाेस्