नृत्य प्रतियोगिता सहित सम्पन्न भयो तीन दिने शैक्षिक सम्मेलन (तस्बिरहरु)

बैतडी- सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्य सहित डिलाशैनी गाउँपालिकामा जेठ १६ गतेदेखि सुरु भएको डिलाशैनी शैक्षिक सम्मेलन आज सम्पन्न भएको छ । आज अन्तिम दिन नृत्य प्रतियोगिता सहित सम्मेलन सम्पन्न भएको शिक्षा शाखा प्रमुख महादेव भट्टले बताउनुभयो ।

दोश्रो दिन हिजो अर्थात जेठ १७ गते गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरथ विद्यार्थीहरुले बनाएका प्रविधि तथा कलाहरुलाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । स्थानीय श्रोत साधनबाट बनाईएका विभिन्न कलात्कम सामाग्री तथा प्रविधिहरु प्रदर्शन गरिएका थिए ।

“समृद्ध डिलाशैनिको आधार, शिक्षामा गुणस्तर सुधार” को नारा सहित गाउँपालिकाले जिल्लामै पहिलो पटक शैक्षिक सम्मेलन आयेजना गरेको गाउँपालिकाका प्रबक्ता यज्ञराज भट्टले बताउनुभयो ।

सम्मेलनको पहिलो दिन सबै विद्यालयले शिक्षाको गुणस्तर सुधार गर्न पञ्चवर्षिय कार्ययोजना प्रस्तुत गरेका थिए भने कार्यपत्रहरु समेत प्रस्तुत गरिएका थिए । । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलनमा उल्लेख्य उपस्थिती समेत रहेको थियो । सामुदायिक विद्यालयप्रति आम अभिभावक तथा विद्यार्थीहरुको आक्रषण बढाई विद्यार्थीहरुलाई हौसला प्रदान गर्नुका साथै गाउँपालिकाको शैक्षिक रणनीति तयार गर्न सम्मेलन आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले बताउनुभयो । सम्मेलनले ४३ बुदे घोषणापत्र जारी गर्दै डिलाशैनी गाउँपालिकामा शैक्षिक गुणस्तर सुधारको संकल्प लिएको छ ।

प्रतिक्रिया छाेड्नुहाेस्