पत्रकार सुरेश रजकलाई गोली लागेको हल्ला झुट – जलेर मृत्यु भएको पुष्टि

काठमाडौं– गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भएको छ ।

त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागका चिकित्सकका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ ।

रजकको शरीरबाट गोली नभेटिएको चिकित्सकले बताएका छन् ।

एक चिकित्सकका अनुसार, पत्रकार रजकको मृत्युको कारण जलेर भएको निष्कर्ष निकालिएको छ । बाहिर हल्ला भएको जस्तो मारेर जलाएको भन्ने कुरा पोस्टमार्टमको रिपोर्टमा नदेखिएको ति चिकित्सकले बताए ।

रजकको पोष्टमार्टम रिपोर्टमा श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखिएको छ । जब आगो लाग्यो उनी जिवितै थिए भन्ने कुराको पनि पुष्टि भएको छ । रजकको मृत्युको कारण जलेर भएको बताइएको छ ।

मंगलबार साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो ।

केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरू सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका थिए ।

प्रतिक्रिया छाेड्नुहाेस्