यस्तो छ काग्रेस एमालेबीच मध्यरातमा भएको सहमतिको खाका

पार्टीका शीर्ष र दोस्रो तहका नेताहरूका शृंंखलाबद्ध बैठकपछि कांग्रेस र एमाले सोमबार मध्यरातमा नयाँ गठबन्धन बनाउने सहमतिमा पुगेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजुसहित १५ असारमा बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेका थिए ।

दुई दलबीच शक्ति बाँडफाँटमा पनि सहमति भइसकेको छ । ओली र देउवाको निर्देशनअनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहमतिको मस्यौदा र शक्ति बाँडफाँटका विषयमा गृहकार्य गरेका थिए ।

स्रोतका अनुसार सुरुमा ओलीको नेतृत्वमा सरकार बन्नेछ र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ । एमालेले अर्थसहित नौ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक सहमति छ ।

त्यस्तै, तीन–तीन प्रदेशको नेतृत्व पनि दुई दलले लिने तथा मधेश प्रदेश मधेशवादी दललाई दिने सहमति छ । तर, यसमा हेरफेर हुन सक्ने नेताहरूको भनाइ छ । यस विषयमा दुवै दलका नेताहरू औपचारिक रूपमा बोल्न चाहेनन् ।

त्यसैगरी, दुई दलबीच निर्वाचन प्रणालीलगायतका व्यवस्था संशोधन गर्ने पनि सहमति भएको छ । यस विषयमा सुझाव लिन पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा सुझाव समिति बनाउने एक नेताले बताउनु भयो ।

प्रतिक्रिया छाेड्नुहाेस्